विश्वास नेपाली
बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा महाप्रलयको भुकम्प गयो । यो पहिलो पटक थियो । जो हामी जस्तो पुस्ताले पहिलो पटक अनुभव गर्दै थियौं । भुकम्प १२ गते मात्र गएन आजसम्म पनि सयौं पटक भुकम्पको धक्का बारम्बार आइरहँदा जनजीवन सामान्य बन्न सकिरहेको छैन । ७ दशमलव ९ रेक्टर स्केलको भुकम्प नेपालमा ९० सालपछिको ठूलो मानिएको छ । गोरखााको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको महाभुकम्पले यसको केन्द्रविन्दु क्षेत्र बारपाकलाई मात्र ध्वस्त बनाएन यस वरपरका थप ११ जिल्लालाई पूर्ण ध्वस्त बनायो । अनगिन्ती जनधनको क्षति भएको छ । नेपालको पर्यटकीय हिसावले तेस्रो गन्तव्य मानिने लाङटाङ उपत्यकालाई पनि पूर्ण ध्वस्त बनायो । यो मात्र होइन, राजधानीको विभिन्न ऐतिहासिक धरोहरलाई पनि क्षति पु¥यायो । करिव ८ हजार मानिसको मृत्यु भयो र त्यसको दोव्वर मानिसहरू घाइते छन् ।
कति मानिसहरू वेपत्ता छन् । सरकारले अहिलेसम्म क्षतिको एकिन विवरण बाहिर ल्याउन सकेको छैन । अनायासै आएको भुकम्पले ठूलो धनजनको क्षति भएको छ । जसको क्षतिपूर्ति न कसैले तिर्न सक्छ न तिर्न सक्ने सामर्थनै कसैसँग छ । तर जनतालाई सामान्य स्थितीमा ल्याउने काम भने सरकारले गर्नैपर्छ ।
यतिबेला गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, ललितपुर भक्तपुर, रामेछापलगायतका जिल्लाको जनजीवन भयक्रान्त छ । राजधानीका जिल्लाहरूमा पनि ठूलो क्षति भएको छ । आजसम्म पनि उद्धारको कार्य पूर्णतया हुन सकिरहेको छैन । उता पहाडी जिल्ला जहाँ भुकम्पको प्रभाव प्रत्यक्ष परेको थियो ती जिल्लाका करिव सम्पूर्ण घरहरू क्षति भएको प्रारम्भिक आँकडा आएको छ । यस्तो क्षतिको विवरणअनुसार रसुवा जिल्लामा मात्रै ९८ प्रतिशत घरहरू पूर्ण क्षति भएको आँकडा छ । अन्य जिल्लामा पनि त्यतीकै हाराहारीमा जनताहरूको घर क्षतिभएको छ । मानिसहरू घरबार विहीन भएका छन् ।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरू यतिबेला सरकारको तिव्र आलोचनाले नै भरिएका छन् । हुन पनि यतिका दिनसम्म पीडित जनताहरूले राहतको महशुस सरकारबाट गर्न पाएका छैनन । मुलुकको शासन सञ्चालन गर्ने जिम्मा लिएको सरकारले यस्तो दुःखद् घडीमा पर्याप्त राहत वितरण गर्न नसक्नुले यस्तो विरोधको स्वर स्वभाविक देखिन्छ । अहिले भइरहेको के छ भने भुकम्पको केन्द्रविन्दु गाउँमा र राहतको केन्द्रविन्दु सहरमा । केही व्यक्ति र संस्थाहरू आफूलाई सेलिबे्रटी बनाउन, फोटो खिच्न र फेसबुकमा चर्चा कमाउन यस्ता काम गरिरहेका छन् । जसले पीडित जनताहरूलाई झन पीडा थपेको छ ।
यो पक्तिकार रसुवा र नुवाकोट जिल्लाको विभिन्न गाउँमा पुगेको थियो । स्थानीय जनजीवन र क्षति राजधानी या सहरमा बसेर गरेको भन्दा अझ बढी भयभित छ । यी जिल्लामा विकट के सुगम ठाउँकै जनताहरूले अहिलेसम्म राहत पाउन सकिरहेका छैनन । अलिअलि सुगम ठाउँमा पुगेको सरकारी राहत पनि पर्याप्त छैन । सुगम ठाउँ जहाँ यातायातको सहज पहुँच छ त्यस्तो ठाउँमा त पर्याप्त राहत पुग्न सकेको छैन भने भने दुर्गम गाविसहरूको हालत कस्तो होला हामी सहजै अनुमान गर्न सक्छौं !
भुकम्प गएको १३ औं दिन रसुवा लहरेपौवा गाविस कार्यालयमा आश्रय लिएर बसेका स्थानीयसँगको कुराकानीमा उनीहरूले भने, लहरेपौवा वडा नंं. २ मा १७० घरधुरी छ । सरकारी राहत अहिलेसम्म जम्मा १० बोरा चाम र १२ वटा पाल आयो । त्यसमा पनि वडामा रहेको ९ धुरी दलितलाई एक÷एक बोरा चामल वितरण गर्दा अरुलाई पुगेन । १२ वटा पाल वितरण गर्न खोज्दा विवाद भयो । अति समस्या परेकालाई छनोट गरी वितरण गरियो । अझ धेरै प्रभावितहरूले पाल पाउन सकेनन । उनीहरूले भने हामी सरकारी राहत कहिले पाउँछौं ? भनि कुरेर बसेका छौं । जवकी १७० घरधुरी सबै पूर्ण क्षति भएको छ । सोही गाविसको अर्काे वडा ९ मा सोही परिमाणमा आएको राहत सामग्री १५४ घरधुरीलाई दामसाहि (सबै परिवारलाई एकै हिसावले) वितरण गरियो । मानमुठीको हिसावले । यस्तो तरिकाले वितरण गरेको राहतले जनताले कसरी राहत महशुस गर्न सक्छन् ।
नुवाकोटमा देवीघाटको पुरै चौर भारतका कुनै बाबाको नाममा कव्जा गरिएको छ । मनलाग्दी आफूखुसी राहत वितरण गरिएको छ । सेल्टर बनाएर भारतीय स्वयम्सेवकको सयौं टोली बसेको छ । गाउँमा जनताको घरमा पुरिएको सामग्री झिक्ने कोही छैन, आफैले ल्याएको राहत सामग्री खाएर भारतीय स्वम्सेवकको टोली बसेको देख्दा सरकारको असफलता प्रष्ट देखिन्छ । यसमा कसले कसरी पहल लिन्छ ? गाउँमा कसरी कसले कहिले राहत लान्छन् र जनताले पाउँछन् ?
यतिबेला गरिबदेखि धनी सबै सडकमा छन् । प्रकोप कति बलियो हुँदो रहेछ भन्ने कुरा यतिबेला प्रष्ट देखिएको छ । करोडौंको महल हुनेहरू पनि महल छाडेर ज्यान जोगाउनको लागि यतिबेला सडकमा पालमुनी दिन–रात काटिरहेका छन् । कतिपय गरिब जनताको त उसै विचल्ली भएको छ । भएको झुपडी पनि भुकम्पले सखाप पारिदियो । अव कहाँ जाने ? कहाँ बस्ने ? के खाने ? खाने अन्न आफ्नो छैन, किनौं पैसा छैन । कमाउन जाउँ मजदुरी गर्ने ठाउँ छैन । यो बेला केही नहुने गरिब, भूमिहीन, सुकुमबासी र महिलालाई साह्रै समस्या परेको छ ।
सबैको अभिभावक भनेको सरकारनै हो । तर सरकार यतिबेला निकम्मा जस्तै देखिएको छ । सरकारी प्रणाली चुस्द देखिएको छैन ।
गाउँमा हल्ला चलेको छ । विदेशीबाट आएको रकम वितरण गर्ने हो भने २० औं लाख एउटा परिवारले पाउँछन् तर हामीकहाँ भ्रष्टचार हुन्छ यस्तो बेलामा कमाउने भए नेता र कर्मचारीले । कतै हल्ला छ, चीनले आफ्नो सीमानको जिल्लाको जनताको घर बनाइदिन्छु भन्दा भारतले दिएन रे अनि हाम्रो सरकार त्यसैको पिछेलग्गु भयो रे ! राहत आएको छ जसको पहुँच छ, उसैको क्षेत्रमा वितरण भयो, गरिब जनताले पाएनन् । यस्तै यस्तै . वास्तविकता के हो सरकारले जनतालाई आश्वस्त पार्न सकेको छैन ।
भुकम्प तथा प्राकृतिक प्रकोप कसैलाई सोधेर वा थाहा दिएर आउने होइन । यदि हो थियो भने पक्कै यति धेरै नेपालीहरूले आज ज्यान गुमाउनुपर्ने थिएन र हजारौं अङ्ग, भङ्ग हुने थिएन, अर्बाैको क्षति हुने थिएन । यसैले यस्तो प्रकोपबाट पीडित बनेकाहरूलाई सहयोग गरौं सम्मान गरौं ।
.jpg)

0 comments:
Post a Comment