Home » » गोसाइँकुण्ड महिमा

गोसाइँकुण्ड महिमा



                                                   विश्वास नेपाली                हेमनाथ खतिवडा                                                                     


रसुवामा जिल्लामा रहेको गोसाइँकुण्ड धार्मिक तिर्थस्थल तथा पर्यटकीय हिसावले महत्वपूर्ण सम्पदाको रुपमा चिनिन्छ । धार्मिक हिसावले हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेहरू गोसाइँकुण्ड एकपटक पुग्नै पर्ने विश्वास राख्छन् । यसैले त गोसाइँकुण्डमा हरेक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) र दशहराको अवसरमा धुमधाम मेला लाग्ने गर्दछ । गोसाइँकुण्ड पछिल्लो समयमा विशेष मेला तथा तिर्थ पर्वका लागि मात्र नभई अरु समयमा पनि स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । यसका साथै यहाँका स्थानीयको स्वरोजगार पनि यसैसँग जोडिएको छ ।

हिन्दु धर्मको पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडार्इं हुँदा भएको समुन्द्र मन्थनबाट कालकुट विष निस्क्यो । उक्त विषले सृष्टिलाई नै समस्या उत्पन्न हुने देखिएपछि भगवान शिव सङ्करले सृष्टिलाई जोगाउनको लागि उक्त विष आफैंले सेवन गरी हिमालय पर्वतरीत लागे । उक्त विषको डाह शान्त गर्न हिमालयखण्डतर्फ लागेका भगवान शिवशंकर हालको गोसाइँकुण्ड रहेको स्थान पुगी आफ्नो हातमा रहेको त्रिशूलले भित्तामा छेदन गरी भित्ताबाट गंगाजल निकाली निष्केको जलबाट बनेको पोखरीमा शयन गरी आफ्नो पीडा शान्त गरेका थिए भन्ने जनविश्वास छ । शिव सङ्करले आफ्नो त्रिशुलले उक्त पानी निकालेको हुँदा उक्त धाराको नाम त्रिशूल धारा राखिएको छ । गोसाँइकुण्डबाट बगेर आउने पानीनै अहिले त्रिशुली खोलाको नामले पनि परिचित छ । पहाडबाट निष्किरहेको जल पनि तीन वटा धारा भएर निष्केर कुण्डतर्फ बगेको छ । त्रिशुल धाराबाट निष्केको जल जमेको पोखरीलाई गोसाइँकुण्ड भनिएको हो । त्यहीँ गोसाइँकुण्डबाट बगेको पानीलाई सङ्कलित गरी धुन्चे नजिकै घट्टेखोलामा मिनी गोसाइँकुण्ड (मानव निर्मित) पनि गरिएको छ ।

अहिले पनि चर्काे घाम लागेको र मौसम खुलेको बेला पोखरीमा शिव सङ्कर भगावन स्नान गरिरहेको देखिन्छ भन्ने विश्वास गरिन्छ । त्यही भगवानको दर्शन गरी पुण्य मिल्ने गहिरो जनविश्वास रहेको कारण वर्षेनी हजारौं तिर्थालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । कतिपय तिर्थालु भने पितृले मोक्षमिल्नुका साथै मनले चित्ताएको कुरा पूरा हुने
जनविश्वासका साथ गोसाइँकुण्ड धाएको बताउछन् ।

गोसाइँकुड रसुवा जिल्लाको हालको गोसाइँकुण्ड गाउँपालिका वडा नंं. ५ मा अवस्थित छ । काठमाडौँको बालाजुबाट नुवाकोटको त्रिशुलीहुँदै पवित्र तिर्थधाम बेत्रावतीमा रहेको उत्तरगयाधाम, कालिकामाई मन्दिरहँुँदै रसुवाको सदरमुकाम धुन्चेसम्म करिव १ सय १८ किमी मोटरबाटो र त्यहाँबाट करिव डेढदेखि २ दिनको पैदलयात्रा पछि मात्र पुग्न सकिन्छ । पैदलयाात्राको क्रममा धुन्चेबाट घट्टेखोला, चन्दनबारी, चौलाङपाटी, लौरिविनायकका अति नै रमणीय दृष्यावलोकन गर्दै गोसाइँकुण्ड  पुग्न सकिन्छ ।

विषको डाह शान्त गर्न हिमालयखण्डतर्फ लागेका भगवान शिवशंकर हालको गोसाइँकुण्ड रहेको स्थान पुगी आफ्नो हातमा रहेको त्रिशूलले भित्तामा छेदन गरी भित्ताबाट गंगाजल निकाली निष्केको जलबाट बनेको पोखरीमा शयन गरी आफ्नो पीडा शान्त गरेका थिए भन्ने जनविश्वास छ ।
रसुवा जिल्ला कुण्डै कुण्ड भएको जिल्लाको रुपमा पनि परिचित छ । यहाँ १०८ कुण्ड रहेको भनाई छ । समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड २०६३ सालमा विश्व सम्पदा सूची तथा सीमसार क्षेत्रमा सूचीकृत भएको छ । यसैले पनि पछिल्लो समयमा गोसाइँकुण्डको महिमा अझ बढ्दै गएको छ । यसैले त पर्यटकहरूको सङ्ख्या बढ्दै गइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्ड मार्गमा हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको सङ्ख्या वर्षेनी आउने गर्दछन् ।

प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्नु पर्छ ऐतिहाँसिक धार्मिक एवम् पर्यटकीय गन्तब्य गोसाइंँकुण्ड, घट्टेखोला, देउराली, चन्दनवारी स्थित सिङ्गोम्पाको बुद्धको बिशाल मुर्ति, दिम्सा, चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।
धार्मिक मान्यता मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि सो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू देउराली, ढिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक बुद्ध मन्दिरलगायतका स्थानहरूको मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाउने वातावरण छ । यस पदमार्गमा विभिन्न प्रजातिका फुलहरू, लोपोन्मुख वन्यजन्तु, वनस्पत्ति, चराहरू रमणीय दृष्यहरू देखिन्छ । वैकल्पिक मार्गको रूपमा राजधानीबाट सुन्दरीजलको बाटो भएर पनि तीर्थयात्रीहरू गोसाइँकुण्ड पुग्ने गर्दछन् । सुन्दरीजलहँुदै गोल्फुभञ्ज्याङ, कुटुमसाङ्गहँुदै पैदलमार्ग पनि छ ।

त्रिशूलधाराको निर्मल जल, सोही जलको समिश्रण शंकरको बासस्थान गोसाइँकुण्डको दृश्यले सबैलाई लालायित बनाउँछ । एकातिर शिवलाई पाउन धेरै भक्तजन त अर्कोतिर मनमोहक दृश्यावलोकनमा आउने पर्यटक सबैको लागि गोसाइँकुण्डले पछिल्लो समयमा पनि प्रसिद्ध कमाउन थालेको छ । हरेक वर्षको जनैपूर्णिको अवसरमा नेपाल तथा भारतको विभिन्न स्थानबाट तिर्थालु भक्तजनहरू आउने गर्छन् । आ.वं. ०७४÷७५ को लाङटाङ राष्ट्रिय निकुञ्जको विवरणअनुसार लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा विदेशी पर्यटकमात्र १३ हजार ७ सय ५९ जना आएका छन् । यस्तो सङ्ख्या विगतको तुलनामा वृद्धि हुँदै गएको छ ।

रसुवा जिल्ला कुण्डै कुण्ड भएको जिल्लाको रुपमा पनि परिचित छ । यहाँ १०८ कुण्ड रहेको भनाई छ । समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड २०६३ सालमा विश्व सम्पदा सूची तथा सीमसार क्षेत्रमा सूचीकृत भएको छ ।


अमरसिंह थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्र हुन् । उनको देहवसान यही क्षेत्र भएको थियो र यहाँ ‘अमरसिंह गुफा’ पनि रहेको छ । यसले पनि यो क्षेत्र ऐतिहासिक रुपमा महत्वमा विविधता थपिएको छ ।
गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभुषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न झाँकी नाचँहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

यस वरपर गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, सुर्यकुण्ड, नौकुण्डलगायतका कुण्डहरू प्रख्यात रहेका छन् । यहाँ आउने पर्यटक तथा तिर्थालुहरूले आफूसँग प्रशस्त समय हुँदा यी कुण्डहरूको पनि अवलोकन गर्न सक्छन् । यस्तै रसुवामै रहेको विविध महत्वका गतलाङको पार्वतीकुण्ड, टिमुरेको रिभरकुण्ड, बृद्धिमको दुधकुण्ड पनि अवलोकलन गर्न सक्छन् । तर, उचित संरक्षण र प्रचार प्रसारको अभावमा यी धार्मिक एवम् साँस्कृतिक महत्वका सम्दापहरू कुहिरोभित्रको काग झै बनिरहेका छन् । कुहिरोभित्र काग हराएझैं सम्पदा मात्र हराएका छैनन्, त्यहाँबाट आउने आर्थिक उपार्जन पनि हराइरहेका छन् । यस क्षेत्रमा नागकुण्ड, जागेश्वर कुण्ड, धर्म कुण्ड, कर्णकुण्ड, अद्भुतकुण्ड, ब्रम्हाकुण्ड, वेदकुण्ड,अग्निकुण्ड, शेषकुण्ड, पीपकुण्ड, दीपकुण्ड छन्, जसेको अहिलेसम्म पनि उचित सम्वर्धन हुन सकेको छैन । स्थानीय भन्छन्, यी कुण्डहरूको उचित संरक्षण र सम्बर्धन हुन नसक्दा बढ्दै गएको जलवायु परिवर्तनको असरले लोप हुँदै गएको हो की भन्ने छ ।

गोसाइँकुण्डमा शिव सङ्कर र पार्वतीकुण्डमा माता पार्वतीको बासस्थान रहेको भन्ने भनाई छ । यही बेला पार्वतीकुण्डमा पनि मेला लाग्ने गर्दछ । पार्वतीकुण्डको संरक्षणका नवीन आवाजहरू पनि आउन थालेका छन् । तर, पार्वतीकुण्डमा बोझ भरिएर कुण्ड लोप हुँदै गएको प्रति स्थानीय चिन्तित छन् । यो वर्ष पार्वतीकुण्डमा पनि धुमधामका साथ मेला आयोजना गर्न गतलाङका स्थानीयहरू लागिपरेका छन् ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र रैथाने, दुर्लभ र सङ्कटापन वनस्पति एवम् चराचुरुङ्गी र वन्यजन्तुको आश्रमस्थलको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे (रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल गोसाइँकुण्ड क्षेत्र परिवरिका जङ्गल हुन् । सम्पदाको संरक्षण विना मानवको जीवन पनि असहज बन्दै जानेछ । उच्च हिमाली भेगमा रहेको गोसाइँकुण्ड तथा वरीपरीका क्षेत्र पारिस्थितिकीय प्रणाली वा जलवायु परिवर्तनका समस्याका दृष्टिकोणले जोखिम र संवेदनशील बन्दै गएको विभिन्न वातावरणविद्हरूले बताएका छन् ।

यस क्षेत्रमा हुने गरेको पर्यटकीय व्यापारका कारण पनि विभिन्न संरक्षण सम्बन्धि समस्या वा चुनौतिहरू थपिदै गएका छन् । मानवले गर्ने गरेको वातावरण प्रतिकुल व्यवहारले यहाँको परिस्थितिकीय प्रणालीमा असर पु¥याइराखेको छ । जताततै फालिएका सिसाजन्य, प्लाष्टिकजन्य र विविध जैविक, अजैविक फोहोरका कारण दिनानुदिन यहाँको वातावरण प्रतिकुल बन्दै गएको छ । सामान्यत विचार गर्ने हो भने पनि धार्मिक आस्थाका स्वरूप कुण्डमा चढाइएका नरिवल र अन्य प्रसादजन्य पदार्थले पनि कुण्डलाई प्रदुषित बनाएको हुन्छ । तीथालुलाई लक्षित गरी व्यवस्थित शौचालय बनाउन नसक्दा पनि शौचालय प्रयोग पछि उक्त फोहोरहरू कुण्डमा आउने सम्भावना देखिन्छ ।

यसैले हरेक वर्ष गोसाइँकुण्डमा आउने तिर्थालु तथा पर्यटकहरूलाई यसको उचित सम्वद्र्दत गर्न, वातावरणमैत्री व्यवहार गर्न पनि गोसाइँकुण्ड क्षेत्र विकास समिति र स्थानीय प्रशासनले सुझाएका छन् ।

आगामी दिनमा गोसाइँकुण्डलाई अझ बढी संरक्षण गर्न, यसको उचित प्रसार प्रसार गर्न प्रवद्र्दन गर्नको लागि गोसाइँकुण्ड गाउँपालिकाले आगामी केही वर्षभित्र केबुलकार सञ्चालन ल्याउने तयार गरेको छ । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको छ र यसै वर्षभित्र अध्ययनको काम सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

यो वर्ष यही भदौ १० गते जनपूर्णिको दिन भव्य मेला लाग्ने छ । यो वर्ष १५ हजार तिर्थालु भक्तजनहरूले यहाँको भ्रमण गर्ने आङ्कलन गोसाइँकुण्ड क्षेत्र विकास समितिले गरेको छ । कुण्ड क्षेत्र र बाटो रहेका होटल तथा थर्पुहरूले यात्रीसँग खाना, बास लगायतमा कनपरी ढङ्गले रकम उठाएको प्रति अघिल्ला वर्षहरूमा गुनासो आएपछि यस वर्ष दररेट निर्धारण गरी विभिन्न सार्वजनिक स्थानहरूमा राखिदिएको छ । गोसाइँकुण्ड उच्च हिमाली क्षेत्र रहेको र यहाँ जाँदा लेक लाग्ने समस्या पनि भएको हुँदा तिर्थालुहरूलाई मध्येनजर गरी कुण्डसम्म पु¥याउनको लागि घोडाहरूको पनि व्यवस्थापन गरेको छ ।

गोसाइँकुण्ड धार्मिक मात्र नभई पर्यटकीय स्थल र साँस्कृति सम्पदा पनि हो । यो विश्व सम्पदा सूचीमा पनि परिसकेको र महत्वको स्थल भएको हुँदा यसको उचित संरक्षण, सम्वद्र्दत र प्रवर्दन गरिनु जरुरी छ । यसको लागि स्थानीयबासी, स्थानीय सरकार र प्रदेश तथा केन्द्रीय सरकारले पनि यसको लागि उचित ध्यान दिई यसलाई महत्वका साथ अघि बढाउनुपर्ने आवश्यकता छ । पर्यटकीय हिसावले गोसाइँकुण्डको विकासका लागि गुरु योजना निर्माण गरी यसको उचित संरक्षणले ऐतिहासिक सम्पदाहरूको संरक्षण हुनुको साथै यसले राष्ट्रिय गौरव बढाउन पनि महत्व राख्दछ ।


२०७५ भदौं ११ मा नागरिक दैनिकमा प्रकाशित

0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.