Home » » खुट्टा दुख्ने हाकुको हिडाइँ

खुट्टा दुख्ने हाकुको हिडाइँ


 
विश्वास नेपाली 
पुस अन्मित साताको हाकुको यात्रा । सम्झना योग्य रह्यो । सरदमुकाम धुन्चेबाट आमुने–सामुने । देख्दा जति नजिक छ, हिड्दा त्यती नै टाढा । सदरमुकाम वरिपरीको गाविस भएरपनि अहिलेसम्म सडक बाटोले छुन नसकेको बस्ती । पैदल पनि ज्यादै अप्ठयारो बाटो पार गरी जानुपर्छ । हाकु अपरिचीत ठाउँ होइन । २०६२ सालदेखि नै हाकुसँग साइनो गासिँएको छ । भूमि अधिकार अभियानमा जोडिएदेखि नै हाकुसँग साइनो गासिँएको हो । अर्काेतर्फ २०६९ सालमा मितेरी साइनोपनि गाँसिएकाले अझ आफन्तिलो गाउँ । हाकु विकट गाउँ । सतप्रतिशत तामाङ बस्ती । भिरालो जमिन । पहिरो नै पहिरोको कहरा । ज्यादै डरलाग्दो पहाड । यही पहिचान बनेको छ हाकु ।

मानवीय बस्ती छ यहाँ । करिव ५०० घरधुरी बसोबास छ । सबै गुठी पीडित । उनीहरूले पुस्तौदेखि खेतीपाती गर्दै आएको र घरबसोबास गरिआएको जमिन समेत आफ्नो छैन । सुकुमबासी सरह झै जीवन । लालपुर्जा भएको परिवार कोही छैन । आफ्नै जग्गाको लालपुर्जा लिनपनि हाकुबासीले लामो सङ्घर्ष गरिरहेका छन्, तर पनि सरकारले हाकुबासीको पीडा सुनेको छैन । भूमि अभियानकै सफलतास्वरुप मोही पुर्जा दिने अभियान पनि यस वर्षदेखि सुरु भएको छ । केही प्रमाण आफूसँग नभएका परिवारलाई मोही पुर्जा पनि भोली बलियो आधार बन्ने ठानिएको छ र त गुठी जग्गा दर्ताको लागि सघाइरहेका छौं । १३२ परिवारको नाममा पुर्जा बनिसकेको छ भने बाँकीको निवेदन दिने प्रक्रियामा छ । 

यो यात्रामा साथमा थिए, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भौगर्भिक अध्ययन गर्न आउनुभएका भुगर्भविद् लेखप्रसाद भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रसुवामा कार्यरत मित्र केशव गजुरेल र जिल्ला भूमि अधिकार मञ्चका सचिव एवम् नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा । टोली विहानै धुन्चेबाट पैदलयात्रा हाकुतर्फ लाग्यौं । सोही दिन धुन्चे फर्कने योजना बनाएका हुँदा विहानै त्यता लागेका थियौं । धुन्चेबाट सिधैं त्रिशूली खोलामा ओरालो झरी पुनः केही घण्टाको उकालोपछि मात्र हाकु पुगिन्छ । हिडाइ अति नै कठिन थियो । धेरै भिरालो बाटो । दैनिक खच्चरको आउ–जाउ भिडले बाटो विगारेको रहेछ । अर्काेतर्फ अघिल्लो दिन दिनभर जसो हिडेर नौकुण्ड गाउँपालिका कार्यालय पार्च्याङ पुगेर  फर्कीएको थिएँ । लगातारको हिंडाइको थकान । योजना पहिले नै तय भइसकेको हुँदा जानु बाध्यता पनि थियो । 

हाकु गाविस २ सानो हाकु बस्ती माथिबाट पहाड खस्न सक्ने जोखीम भएको हुँदा पुरै सार्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययन प्रतिवेदन आयो । उनीहरूलाई नयाँ ठाउँमा स्थानान्तरण गराउन प्रक्रिया अघि बढ्दै छ । हाकु डाडाँमा प्राधिकरण टोलीबाट नै केही महिना स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरिएको थियो । उक्त टोलीमा विज्ञहरू पनि सहभागी हुनु भएको थियो । उक्त भ्रमणमा म पनि सहभागी हुने मौका पाएका थिएँ । टोलीको अध्ययन भ्रमणपछि गाउँ जोखीममा देखिएकाले अन्यत्र स्थानान्तरणको लागि सिफारिस गरिएको रहेछ । 

गत १२ बैशाख २०७२ मा आएको भूकम्पको कारण यहाँ पहिरोले प्रभावित गरेको र माथिबाट पहाड खस्न सक्ने भय छ । सोही कारण हाकुबासी भूकम्पपछि सदरमुकाम धुन्चेमा आई अस्थायी शिविर बनाई बसिरहेका छन् । केही फर्कीएर घर बनाउन थालेका छन् भने केही धुन्चेमै छन् । हाकुको वडा नं. २ बाहेक अन्य स्थानमा पुनः त्यहीँ घर बनाइ बस्न सकिने प्राधिकरणका भुगर्भविद्हरूले बताएपछि वडा कार्यालयले अघिल्लो महिनादेखि सम्झौता गरी घर बनाउनको लागि अनुदान वितरण प्रक्रिया थालेको छ । 

हाकु गाविस वडा नं. २ मा करिव ११४ घर छन् । एकै ठाउँमा झुरुप्प परेको बस्ती । भूकम्पले तहस नहस भएको छ । त्यसमाथि पनि भूकम्पको कारण गाउँमाथिको पहाड हल्लिएर चिरा परेको र जुनसुकुै बेला पनि पहिरो जान सक्ने हुँदा गाउँ नै जोखीममा परेको छ । उनीहरू गाउँ तलको पाङ्लिङ्मा बस्ने तयारीमा छन् । यो पटकको यात्रा पाङलिङ क्षेत्रको भुगोल अध्ययन गर्नको लागि काठमाडौंबाट आउनुभएको भुगर्भविद्सँग थियो । जोखीमयुक्त क्षेत्रका घरधुरीलाई पुनर्वास गराउनको लागि जिल्ला भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय तहसँग सहकार्य गरिरहेका छौं । यही क्रममा हाकुको यात्रा थियो ।  

हाकुबासी विस्थापित भई धुन्चेलगायतको ठाउँमा अस्थायी शिविरमा बसेको बेला पनि त्यही गई राहत सामग्री, न्यानो सामग्रीहरू पनि वितरण गरिएको थियो भने शिविरमै बस्दै गर्दा गत वर्ष हावाहुरीको कारण अस्थायी शिविर उडाएर विचल्ली पारेको कारण अस्थायी आवास पुनःनिर्माण गर्नको लागि काठमाडौंस्थित क्इक भोलेन्टिएर टिमसँग समन्वय गरी सहयोग गरिएको थियो । र उनीहरूको सुरक्षित पुनर्वासको लागि पटक पटक डेलिगेसन र अभियान गरी सरोकारवालाहरूको ध्यानकर्षण गराउन पहल लिएका छौं । अभियान अझै जारी छ ।  
हाकु जानको लागि धेरै हिड्नुपर्ने र बाटोमा कतै घरहरू नभएको र धेरै समय लाग्ने भएको हुँदा धुन्चेमा नै विहानीको खाजा खाएर आरालो लागेका थियौं । करिव ५ घण्टाको हिडाइपछि मात्र पाङलिङ पुगेका थियौं । गाउँमा जग्गा देखाउने र समन्वय गर्ने कार्य स्थानीय सोमबहादुर तामाङले गर्नुभयो । उहाँ हाम्रो अभियानको लागि पनि सहयोगी अगुवा हुन् । 

बाटोमा जाँदा देखियो । धुन्चेबाट त्रिशूली खोला झर्न चाहिँ कठिन छन् । तर पारीपट्टि हाकु भाग पुगेपछि भने भर्खरै गोरेटो बाटो निर्माण गरिएको रहेछ । पिन संस्थाले उक्त बाटो निर्माणमा सहयोग गरेको स्थानीयले बताए । केही वर्ष अघि हाकु पुग्दा र अहिलेको हाकुमा परिवर्तनहरू देखिए । घरहरू ढलीरहेका छन्, ति अव कहिले उठ्ने हुन् त्यसै भन्न सकिने अवस्था देखिएन । यद्यपि केही घरहरू निर्माणको क्रममा छन् । 

जादा–आउदा बाटोभरी हाकु यातायात भेटियो । हाकुमा यातायातको साधान अहिले पनि खच्चर नै हो । स्थानीले खाद्यन्नदेखि निर्माण सामग्रीसमेत खच्चरबाट ढुवानी गर्छन् । हाकुबासी भन्छन्, सामान ढुवानी गरेर घर बनाउन ज्यादै समस्या छ । सरकारले दिएको तीन लाख रुपियाँले ढुवानी खर्च पनि पुग्दैन । 


हाकु गाविस वडा नं. २ मा करिव ११४ घर छन् । एकै ठाउँमा झुरुप्प परेको बस्ती । भूकम्पले तहस नहस भएको छ । त्यसमाथि पनि भूकम्पको कारण गाउँमाथिको पहाड हल्लिएर चिरा परेको र जुनसुकुै बेला पनि पहिरो जान सक्ने हुँदा गाउँ नै जोखीममा परेको छ । उनीहरू गाउँ तलको पाङ्लिङ्मा बस्ने तयारीमा छन् ।

केही हप्ता अघि हाकुकै एक हुल नुवाकोटको त्रिशुली बजारमा भेटेको थिएँ । उनीहरू सिमेण्ट र रड किन्नको लागि नुवाकोट पुगेको बताउँदै थिए । रसुवाको बजारमा निर्माण सामग्री सहज नपाएको हुँदा उनीहरू नुवाकोट पुगेका हुन् । धुन्चेबाट एक केजी सामान हाकु पु¥याउन बोकाएको ज्याला हाकु १३ रुपियाँदेखि २५ रुपियाँसम्म तिर्नुपर्छ । बजारमा १००० देखि १२,०० रुपियाँ र ढुवानीसमेत गरेर १ बोरा सिमेण्ट हाकु पुग्दा धेरै खर्च हुन्छ । घरको लागि डिपिसी गर्नको लागि सिमिण्टे रड चाहिने हुँदा यही खरिद गर्न  गाउँहरुले अहिले नुवाकोट बजारसम्म पुग्नपर्ने बाध्यतामा पनि छन् । एकातिर बजारको मंहगी अर्काेतर्फ गाउँसम्म सहज ढुवानी गर्न नसक्दा पुनर्निर्माणमा समस्याहरू यत्रतत्र देखिन्छन् । गरिब हाकुबासीलाई पुनर्निर्माण अर्काे चुनौतीको पहाड बनेको छ । जताततै समस्या, यी समस्या गाउँलेहरूले नियती बन्दैछन् ।

हाकु पुगेर फर्कदा ओरालो झन ज्यादै गाह्रो भएको महशुस भयो । खुट्टा अति नै दुख्यो । झोलामा मुभ (दुख्दा तत्काल लगाउने औषधी) बोकेको थिएँ । खाना खाने ठाउँमा नै एकपटक मुभ लगाइसकेको थिए । र पुनः ओरालो झर्दा पनि लगाउनु बाध्य भएँ । टिममा सल्लाह ग¥यौं, धुन्चेको उकाले उक्लन ४ घण्टा लाग्छ, बरु स्याफ्रुबेशीसम्म नयाँ ट्रयाक खोलको छ, त्यहीबाट रोड हँुदै जाऊ र त्यहाँबाट धुन्चेसम्म गाडीमा जाऔं । स्थिती त्यस्तो रहेन, आधा बाटो पुग्दा बीचमा केही बेर रोकियौं, सडक बाटो खन्नको लागि जिम्मा लिएको नेपाली सेनाले बलाष्टिङ गर्दै रहेछन् । हामीलाई डिउटीमा बसेका सेनाले बाटो नभएको, ट्रयाकसमेत नखुलेको र जान पनि नसकिने जोखीम छ जान नमिल्ने भन्दै फर्किनु भने । तर, हामीले जान चाहेको बताएपछि उनले आफ्नो सिनियरलाई सोधे । उताबाट पठाइदेउ सन्देश आयो । जान पाउने भयौं । सिधा बाटो हिड्न पाउनेभएपछि हिड्न सकिनेमा अलिक आशा पलायो । सेनाको बलाष्टिङ टिममा चिनजानको साथी भएको कारण पनि हामीलाई त्यहाँबाट जोखीमै भएपनि जाने अनुमति मिल्यो । र त सेनाका एक जना साथीले आधाबाटोसम्म पु¥याइदिए । 

तर, आफ्नो सुरक्षा आफैंले गर्ने गरी हामी कष्ठसाथ ट्रयाक पार गरी भार्खुमुनीको १२ घुम्तीसम्म हिडेका थियौं । करिव २ घण्टा ३० मिनेको यात्रा पार गरी भर्खरै खन्दै गरेको बाटो हिड्यौं । त्रिदेशीय व्यापारलाई मध्येनजर गर्दै गल्छी त्रिशुली मैलुम, स्याफ्रुबेशी हुँदै रसुवागढी जोड्न सडक बनिरहेको ट्रयाक खोल्ने कार्य सकिएको रहेनछ । त्रिशूली खोलामा काठे पुलमा डोरीमा समातेर जोखीमसाथ तर्नुपर्ने र एउटा खुटट पनि मुस्किलले अट्ने भिरको बाटो हिड्नुपर्ने । तल डरलाग्दो भिर र अलिकति पनि दाया बायाँ भएमा सिधैं त्रिशूली नदीमा । साह्रै डरलाग्दो । एकारित खट्टा धेरै दुःखेको अर्काेतिर अप्ठ्यारो बाटो । न अगाडी जानु, न पछाडी जानु भयो । हेमनाथ दाजु भिरको बीचमा पुगेर रिंगटा लाग्यो भनेर त्यही ढल्न खोजे, धन्न सम्हालीएर अलि खुल्ला ठाउँमा आएर आराम गरी बसे । केहीबेरपछि पुनः अर्काे साथीको सहयोगमा बल्ल तल्ल भिर उक्लन सफल भए । हामीले आफैंले जोखीम मोलेर त्यो बाटो रोजेछौं, सजिलो खोज्दा झनै अप्ठ्यारो । धन्न धन्न, बचेर हामी सडकबाटोसम्म पुग्यौं र गाडी चढेर धुन्चे फर्कयौं । 

नागरिक दैनिकमा १७ माघ, २०७४ मा प्रकाशित

केही फोटोहरु
हाकु जाने क्रममा साथीहरुसँग । बाटोमा । 

भिरालो हाकु गाउँ 

हाकुका साथीहरुसँग बाटोमो जम्काभेट ।

हाकु यातायात । हाकुमा स्थानीयले खच्चरबाटै ढुवानी गर्छन् । याता


हाकुमा स्थानीयसँग


0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.