Home » » बिच्चलीमा विस्थापित

बिच्चलीमा विस्थापित


विश्वास नेपाली
गत शुक्रबार विहान रसुवा हाकुबाट विस्थापित भई लहरेपौवा गाविस वडा नं. १ नौवीसेमा अस्थायी क्याम्प बनाई बसेका सुप्पल तामाङले आत्महत्या गरेका खबर सुनियो । ज्यादै नराइलो खबर । भर्खर २८ वर्षमात्र टेकेका उनले विस्थापित क्याम्प नजिकै झुण्डिएर आत्महत्या गरेछन् । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा एक महिना अघिमात्र विवाह गरेका उनले आफ्नो श्रीमती गुमाएका थिए । स्थानीयका अनुसार उनले आत्महत्या गर्नु अघिल्लो दिन आफन्त दाइ सेतार तामाङको ६ वर्षे बालक मेङ्मार तामाङको नजिकैको खोलामा डुबेर मृत्यु भयो । आफन्तका अनुसार उनी लामो समयदेखि परिवार र आफन्त जनको दैनिकी नाजुक अवस्था देखेर उनी मानसिक तनावमा थिए रे ।  
गत कात्तिक १७ गते रसुवा राम्चेमा भएको बस दुर्घनामा परी हाकु विस्थापितमध्येका २ जनाको मृत्यु भयो भने ११ जना गम्भीर घाइते भएका छन् । ती मध्ये ५ जना त अपाङ्गनै हुन पुगे । गत महिना विस्थापित क्याम्पकै भूकम्पमा घाइते भएकी एक महिलाको पनि दुःखद् निधन भयो । एक वर्षको अवधिमा लहरेपौवामा आई अस्थायी शिविरमा बसेका मध्ये ५ जनाको अकालमै मृत्यु हुन पुग्यो । विस्थापित क्याम्प २ का संयोजक छेक तामाङका अनुसार यस्तो घटनाहरू बढ्दै गएपछि शिविरबासिहरू आत्तिएका छन् ।

गत महिना धुन्चेमा चलेको ठूलो हावाहुरीले धुन्चे क्षेत्रमा विस्थापित क्याम्पमा बसोबास गरेका २०० भन्दा बढी परिवारको विच्चली हुन पुग्यो । विस्थापित शिविरमा बसेका पीडितहरूको समस्या दिन दु गुना, चार चौ गुना थपिँदै गएको छ । 

गत हप्ता रसुवा जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा हाकु गाविसबाट विस्थापित भएका पीडितहरूले हामी विस्थापितको पुनस्र्थापना कहिले हुन्छ ? सिडियो साप भन्दै प्रश्न गरे । जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दलसहितको उपस्थिति थियो त्यहाँ । विस्थापितको प्रश्नमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने, हामी विकल्प खोजिरहेका छौं तर विस्थापितलाई कहाँ राख्ने, कहाँ पुनस्र्थापना गराउने भन्ने विषयमा अझै टुङ्गो लागिसकेको छैन । यो विषय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट टुङ्गो लाग्नुपर्ने हो । हामी समन्वय गर्छाै र गरिरहेका छौं । उनीहरू आफ्नो समस्या सिडियोले नै टुङ्ग्याउँछन् र चाँडै पुनस्र्थापनाको प्रक्रिया अघि बढ्छ भन्ने आशामा थिए, खोजेजस्तो जवाफ नपाएपछि निरास देखिए । 

हाकु गाविस ८ की विस्थापित मिनाकुमारी तामाङले भनिन्, विस्थापित शिविरमा बस्नुपर्दा हामी महिलाले अझ बढी समस्या भोग्नु परेको छ । सानो सानो टहरो छ । एउटै छानमुनी सबै एकै ठाउँमा । धेरै घरधुरी एकै ठाउँमा ज्यादै साघुरो ठाउँ । कुनै सुरक्षा छैन, महिलाहरूलाई विभिन्न समस्या हुन्छन्, तर हामी लुकाएर बस्न बाध्य छौं । नत हामीकोमा कुनै स्वास्थ्य शिविर छ, नत कुनै सुरक्षा पोष्ट नै । जति गाउँमा थियो त्यती सुरक्षा महशुस गर्न पाइरहेका छैनौं । हाम्रो समस्या सरकारले सुनेन ।

भूकम्पको एक वर्षे स्मृति दिवस पनि मनाइ सकिएको छ । तर, भूकम्पले दिएको पीडा मान्छेले चाहेर पनि भुल्न सकेका छैनन् । रसुवा जिल्लाको हकमा मात्रै हाकु, डाडाँगाउँ, ठूलोगाउँ र लाङटाङबासी विस्थापित भएका थिए । सबभन्दा बढी पीडा यतिबेला हाकुबासीमा देखिएको छ । उनीहरू धेरै ठाउँमा छरिएर बसोबास गरिरहेका छन् ।

हाकु गाविस वडा नं. ९ र ८ का विस्थापितहरू जिल्लाकै लहरेपौवा गाविस वडा नं. १ नौबीसे क्याम्प नं. १ मा १२०, बोगटीटार क्याम्प नं. मा २ मा ९२, लहरेपौवा गाविस वडा नं. ८ काभ्रेमा ६२ परिवार, ठूलोगाउँ गाविसको शान्तिबजारमा ७ परिवार नुवाकोट गेर्खु गाविसको बेत्रावती सातबीसे ३१ र सिम्मुटारमा ७ परिवार छन् । हाकु गाविस वडा न. २, ३, ४, ५, ६, ७ का विस्थापितहरू २३५ घरधुरी भने सदरमुकाम धुन्चे वरिपरि खाली रहेको जमिनमा अस्थायी टहरा बनाइ बसोबास गरिरहेका छन् । धुन्चे क्षेत्रमा विस्थापितहरू केबु टोल, कृषि फार्मको जमिन, जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समितिको वरिपरि र नेपाल विद्युत प्राधिकरण कार्यालय नजिक रहेको खाली जमिनमा बसोबास गरिरहेका छन् ।

विस्थापितहरू भन्छन्, हामीलाई रातमा निन्द्रा छैन, दिनमा भोक पनि छैन । जग्गाधनीहरूले चर्को भाडा लिन्छन्, हाम्रो आफ्नो रोजगारी छैन, सरकार र सङ्घ सङ्स्थाले वितरण गरेको राहत पनि सकियो, अव बालबालिका समेत भोकै बस्नुपर्ने बाध्यता हामी सामु छ । आफ्नो केही छैन, तर हामीलाई यस्तो दुःखको बेला सरकारले आशा गरेजति सहयोग गरेन, गुनासो छ विस्थापितको ।

शिविरमा बसेका भूकम्प पीडितलाई अन्य मानिस सरह व्यवहार नगरिएको उनीहरूको गुनासो छ । उनीहरू भन्छन्, अरुको घर अव बन्ने क्रममा छ । तर हाम्रो टुङ्गो लागेन, हाम्रो शिविर सानो हावा हुरी आउँदा पनि उडाउँछ, थोरै पानी परेपनि चुहिन्छ, हामी सुरक्षित छैनौं । सधैं डर र त्रासको जिन्दगी मात्र कति बाच्ने ? धेरै विचल्लीमा परियो ।

यतिबेला विस्थापितहरूरूको दैनिक ज्यादै कष्ठकर बनिरहेको छ । उनीहरूको पुनस्र्थापना कहिले हुने कहाँ हुने भन्ने अझै टुङ्गो लागेको छैन । बढ्दै गएको धुप, गर्मी, र खडेरीले पानीको मुहनाहरू सुक्दैछन् कष्ठकर दैनिकीका कारण विस्थापितहरूको अवस्था नाजुक हुँदै गएको छ । अझ पछिल्लो समयमा त विस्थापितहरूको मानसिक स्थिति पनि फरक हुँदै गएको छ । भर्खरै भएको युवकको आत्महत्याले पनि यो सोच्न बाध्य 
बनाउछ । उनीहरू त्रसित छन् । 

नेपालमा विनाशकारी भूकम्पले ठूलो जन–धनको क्षति पु¥याएको वर्षदिन नाघ्यो । तर पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेन । धेरै मानिसहरू घरबार विहीन छन्, धेरैले आफन्त र परिवारका सदस्य गुमाए । धेरैले अमूल्य सम्पत्ति गुमाए । धेरै परिवारले गाउँ फर्कनै नमिल्ने गरी आफ्नो बासथलो गुमाए । त्यसैले त गत वर्षको भूकम्पको कारण नेपालमा ७ लाख मानिसहरू थप गरिबीमा रेखामुनी धकेलिएको अनुमान गरिएको छ ।
भूकम्पको कारण धेरै मानिसहरू पीडित बनेका छन् । अझ बढी पीडित जो आफ्नो पुरानो बासथलोबाट नै विस्थापित भए उनीहरू बढी छन् । भूकम्पले भौगोलिक क्षेत्रमा पुगेको क्षतिको कारण धेरै मानिसहरू विस्थापित भई अस्थायी शिविरमा बसोबास गरिरहन बाध्य छन् । 

भूकम्प पीडितहरूको लागि सरकारले नयाँ घर बनाउनको लागि २ लाख रुपियाँ दिने त तयारी थालेको छ तर आफ्नो बासथलो गुमाई अन्तै अरुको जमिनमा चर्काे भाडा तिरेर बसोबास गरिरहेका हकमा के हुने भन्ने विषयमा अझैसम्म पनि अनिर्णित छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको पनि जुग वित्यो तर, जनताले प्राधिकरणबाट राहत महशुस गर्न सकेनन् । रसुवा जिल्लाकै हकमा भन्ने हो भने, २ हप्ताअघि बृद्धिम गाविसमा १९३ परिवारले नयाँ घर बनाउनको लागि दर्ता गराए, तर यतिका दिनसम्म पनि सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन । बैंकमा खाता खोल्नुपर्छ भनिएको छ, उनीहरूलाई थाहा छैन, कुन बैंकमा खाता खोल्ने, कसरी खोल्ने र कसरी आउँछ, र नयाँ घर बन्छ ? यसमा सरकारको ध्यान कहिले जान्छ ? 

0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.