Home » , » लकडाउन डायरी पाँच : कोरोना कहर र रसुवा सन्दर्भ

लकडाउन डायरी पाँच : कोरोना कहर र रसुवा सन्दर्भ


विश्वास नेपाली

प्रसङ्ग
मेरा एक जना मित्रले भन्नुभयो, रसुवाको विषयमा पनि लेख्नुप¥यो । मित्र विनोद पौडले अहिले नवलपरासीमा बस्छन् । जागिरको सिलसिलामा भौतिक शरिर उता भएपनि उनलाई चिन्ता छ, यताको । सधैं जिल्लाको हालखबर कस्तो छ, सोधिरहन्छन् । सामाजिक सञ्जालतिर टिप्पणी फ्याँकीरहन्छन् ।

कोरोना र रसुवा

चैत ११ गतेदेखि सरकारले मुलुकभर लकडाउन गरेपछि यतिबेला रसुवामा पनि त्यसको प्रत्यक्ष प्रभाव भोगिरहेको छौं । सरकारको अपिललाई रसुवाबासीले पालना गरी लकडाउनको पूर्ण पालना गरेका छन् । घरभित्रै बसोबास गरिरहेका छौं ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय रसुवाले २४ औं घण्टा जस्तो व्यवस्थापन गरिरहेको छ । सूचनाहरू प्रवाह गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी अहोरात्र खटिरहनुभएको छ ।

कोभिड–१९ को सन्दर्भमा रसुवामा २९ स्वास्थ्य संस्थाहरू सक्रिय छन् । १२ वटा हेल्थ डेस्क स्थापना भएको छ । १८४ वेडको क्वारेन्टाइन स्थापना गरिएको छ । ३५ वटा आइसोलेसन बेड स्थापना गरिएको छ । हालसम्म कुल जाँच गरिएको सङ्ख्या २५८ जना छन्, ती मध्ये कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण समेत भेटिएको छैन । आईसोलेसनमा हालसम्म २ जना राखिएकोमा दुवै घरफर्केका छन् । हालसम्म ११ जना क्वारेन्टाइनमा छन् । 

अहिले त ¥यापिट टेष्ट पनि सुरु गरिएको छ । यो ¥यापिट टेष्टले पनि कोरोना सङ्क्रमण रसुवामा भित्रिएको छ वा छैन भन्ने विषयमा केही हदसम्मको जानकारी गराउन मद्दत गरेको छ । हालसम्म रसुवामा २३ जनाको ¥यापिट टेष्टसमेत भइसकेको छ । ती मध्ये सबैको रिर्पाेट नेगेटिभ आएको छ । यस्तो टेष्टमा पोजेटिभ देखिए थप परीक्षण टेष्टको लागि माथिल्लो निकायमा पठाउनुनर्पे हुन्छ । त्यस्तो नियति भोग्नु परेको छैन । अव पनि नपरोस् ।

चीनको वुहान सहरबाट गत जनवरी महिनाबाट फैलिएको कोरोना भाइरसले यतिबेला विश्व समुदायलाई त्राहिमाम् बनाएको छ । प्रविधि र विकासमा अधिक छलाङ मारिसेकेका देशलाई समेत आतकिंत बनाएको छ । यस्तो परिस्थितीमा नेपालमा पनि कोरोना आउन सक्छ । यो त चीन आउजाउ गर्ने नाका भएको जिल्ला भएको हुँदा रसुवा जोखिममा हुन सक्छ भन्ने जुन अफ्वाह थियो, त्यो असत्य सावित हुँदै गएको छ । यहाँ अहिलेसम्म कसैलाई पनि यस्तो समस्या देखा परेको छैन । यद्यपि सचेत भने हुनुपर्छ नै । 

लकडाउन भएपछि रसुवाली जनता पनि निश्चय नै प्रभावित छन् । अहिलेको परिस्थितिमा सबैतिर डुलेर राहत वितरण गर्नु सम्भव पनि नहुने र यसो गरिँदा कोरोना सङ्क्रमण बढ्न सक्ने सम्भवाना भएको हुँदा सरकारले राहत वितरणको लागि एकद्धारा प्रणालाीबाट जान अपिल गरेको छ । सहयोगी मनहरूलाई एकद्धारा प्रणालीबाट आउन अनुरोध पनि गरिएको छ । 

सहयोग जो सुकैले पनि गर्न सक्नुहुन्छ तर, यसको लागि राज्यले तोकेको निकायमार्फत जानुपर्ने बाध्यता छ । जस्तै : जिल्लागत तहमा जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र स्थानीय तहमा गाउँपालिकामार्फत गर्न सकिन्छ । यसको लागि सबै गाउँपालिका र विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्नेहरूलाई सोही बाटो भएर आउन अपिल पनि गरेका छन् । 

यस्तो विपत्तिको बेला सरकारलाई यो अभियानमा सघाउन भन्दै यही वैशाख २ गते नेकपा रसुवाले पार्टीको तर्फबाट अध्यक्ष कर्णेल तामाङ र संविधान सभा सदस्य एवम् नेकपा जिल्ला कमिटि सङ्गठन विभाग प्रमुख जनार्दन ढकालले व्यक्तिगत रुपमा राहत सामग्री जिल्ला विपद् व्यवस्थान समितिलाई प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीमार्फत हस्तान्तरण गर्नुभयो । ४०० बोरा जिरा मसिनो चामल, ९००० थान सर्जीकल मास्क, २००० थान गोलव्स, १५ थान पिपिई किट र १६९ थान ह्याण्ड स्यानीटाइजर हस्तान्तरण गर्नुभएको छ । यसले पक्कै पनि केही राहत मिल्नेछ भन्ने विश्वास लागेको छ । 

हाम्रा सांसद ज्यूहरू गाउँगाउँ मास्क र सावुन बोकेर कुदिरहनुभएको छ भन्ने खबर पनि आइरहेको छ । यस्तो बेला गाउँ गाउँ जाँदा आउँदा सङ्क्रमण फैलन सक्ने सम्भवना पनि उत्तिकै छ । उहाँले कति वितरण गर्नुभयो, त्यसको ट्रयाकिङ्ग गर्ने सकिएको छैन । किनकी यसको रेकर्ड कतै दिइएको छैन । यद्यपि संघीय सांसद् मोहन आचार्यले सर्जिकल मास्क, पिपीई किट र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ भने अन्य सहयोग व्यक्ति तथा संस्थाहरूले पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । 

गाउँपालिकाले अति नै समस्यामा परेको मानिसहरूलाई खाद्यन्न राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यसले पक्कै पनि गाउँ गाउँमा सरकार छ भन्ने अनुभूति दिलाउन मद्दत गर्छ । बाँकी जो जसलाई समस्या परेको छ, उनीहरूलाई पनि राहत वितरण गरिदिन अनुरोध पनि गर्छु । 

सिजन खेतीपातीको 

घर वरिपरीको वातावरण मौसमी भएको छ । रुख विरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । पुराना पातहरू झरेर नयाँ कपडा फेर्न तयार भएझै भएका छन् । नयाँ मौसम सुरु भएको छ । 

खेतीपाती गर्ने किसानहरू भने बेसी क्षेत्रमा मकैं गोड्ने पानी लगाउने गरिरहेका छन् । गाउँघरतिरको बारीमा भर्खरै मकै लगाउने सुरु हुँदैछ । समयमै पानी नपरिदिएको कारण बारीमा लगाउने मकैको समय घर्किदै गएको छ । किसानहरू चिन्तीत पनि उत्तिकै छ । जमिन बाँझो छ । सुख्खा छ । यो वर्ष पनि खडेरी पर्ने त होइन । कोरोनाको कारण लकडाउन भएर अर्थाेपार्जन गर्ने केही काम गर्न पाइएको छैन । खेतबारीमा अन्नपात लगाएर पनि खान पाइएन भने त पेट भर्न मुस्किल हुनेमा चिन्तीत छन्, किसानहरू । जहाँ जहाँ सिँचाई सुविधा छ त्यहाँ त्यहाँ असारे धान हरिया भएर पलाएका छन् । गोडमेलको बेला पनि भइसक्यो । 

साच्चै भन्नुपर्दा खेतीपाती गर्ने किसानलाई लकडाउनले प्रभाव पारेको छैन । यद्यपि उनीहरूमा डर भने पक्कै 
छ । नयाँ मानिसहरू देखेँ सशंकित हुने, डराउने त छँदैछ । त्यसैले त पारिवारिक खेतीप्रणाली सुरु भएको छ । यो राम्रो पनि हो ।  

गाई काण्ड, अच्चम भयो नी !

वैशाख ४ गते नयाँ घटना भयो । जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार कालिका गाउँपालिका वडा नं. २ स्वाँराका एक जना किसानको घरमा वैशाख ३ गते राती आफ्नै घरको गोठमा बाधिँएको गाई भोलिपल्ट विहान उठ्दा थिएन । बेलुकी दुध दोएर बाँधिराखीएको गाईँ नहुँदा अवश्य पनि घरबेटीलाई चिन्ता लाग्यो । फुकेर कहिँकतै गएको होला भनी सोधखोज गरियो । सबैतिर खोजीयो भेटिएन । कतैपनि नभेटिएपछि नजिकै रहेको प्रहरीलाई खबर गरियो । 

प्रहरी र स्थानीय मिलेर खोज्दै जाँदा उनको घर भन्दा केही पर एकान्त जङ्गलमा लगि काटी मासु भाग लगाएर केही मानिसहरूले घरघरमा पु¥याएको पाइयो । यस घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले १ महिलासहित ५ जनालाई प्रक्राउ गरेको छ । गाई मारे हत्या भन्ने यिनीहरूलाई थाहा रहनेछ । गाई हाम्रो नेपालीहरूको पुजनिय जनावर हो । राष्ट्रिय जनवार हो भन्ने कुरा पनि यी लठुवाहरूले भुलेछन् । यस्तै छ । कलियुगको सङ्केत त होइन
यो ?

फलाखुँ खोलामा छैन माछा

अघिल्लो हप्ताको शनिबार गाउँका भाइहरूसँग फलाखुँ खोला गएको थियो । करिव १२ वर्षपछि म फलाखुँ खोला गएँ । घरबाट करिव १ घण्टा ओरालो झरेपछि खोला पुगिन्छ । सानो छँदा बालसखाहरूसँग प्रायजसो गइरहने खोलामा धेरै पछि पुग्दा अनौठो लाग्नु स्वभावीकै थियो । 

फलाखु खोला सबैले सुनेका नाम हो । केही वर्षसम्म पौडी खेल्ने, जाल खेलेर माछा समात्ने, दुवाली थुनेर माछा समात्ने कार्य हुन्थ्यो । तर, अहिले त्यो छैन । फलाखुँ खोलामा करेण्ट लगाएर माछा मार्ने गरेको कारण खोलोमा पानी बाहेक केही पाइदैन । जाल खेलेर र दुवाली थनुरे माछा मार्ने अव कल्पना मात्र हुने रहेछ । खोलमा माछा होइन, भ्यागुता र गंगटो पनि पाइदैन । करेण्ट लगाएपछि यी सबै मर्ने रहेछन् । फलाखु खोला अव हिजोको फलाखुँ रहेन । यसको संरक्षण जरुरी देख्छु म, खोलामा करेण्ट लगाएर माछा मार्दा यसले माछा मात्र होइन, अन्य पानीमा रहने जीवजन्तुमा समेत असर गर्ने रहेछ । यसले पारिस्थिति पद्दतीमा समेत असर गर्ने निश्चित छ । 

विस्थापितको गुनासो, छैन राहत

हामी सबैलाई थाहा छ । २०७२ सालको भूकम्पको कारण धेरै मानिसहरू प्रभावित भएका थिए । तीमध्ये रसुवामा १०५८ परिवार भूकम्पको कारण विस्थापित हुन पुगेका थिए । उनीहरू कतिपय अहिले पनि अस्थायी शिविरमै बसोबास गरिरहेका छन् । उत्तरगया गाउँपालिका वडा नं.५ को खाल्टे र बोगटीटारमा विस्थापित बस्तीहरू छन् । शान्तिबजार क्षेत्रमा पनि मानिसहरूले अहिले पनि विस्थापित शिविरमै बसोबास गरिरहेका छन् । उनीहरूलाई राहत नपुगेको गुनासो छ । 

उनीहरू भन्छन्, ज्यालादारी गरी खाने काम पनि बन्द भयो । सरकारले राहत वितरण गर्छाै भनिरहेको समाचार त सुनेका छौं तर अहिलेसम्म बस्तीमा खाद्यन्न राहत सामग्री आएको छैन । बाहिर निस्केर हिड्ने वातावरण पनि छैन । अव हामी खाद्यन्नको समस्याबाट गुज्रीसकेको छौं । केही पनि पछि त भोकेमरी पनि सुरु हुन सक्ने सम्भावना छ । 

नाकाबन्दी नै छ 

रसुवा जिल्लामा अहिले कहिँ कतैबाट आवात जावत गर्न सक्ने र पाउने वातावरण छैन । यातायात ठप्प छ । रसुवागढी नाका बन्द भएको पनि धेरै दिन वित्यो ।बेत्रावती पुल तरेर कोही आउन पाउँदैनन् । दिइएको छैन । सोलेतर्फको पुलको पनि केही भाग उप्काइदिएको छ भन्ने सुनेको छु । आवात जावतमा पूर्ण रोक लगाइएको 
रे । हिजो जिल्ला प्रशासन कार्यालय नुवाकोटले निर्णय गरेको छ, यदी कोही व्यक्ति उसको जिल्लामा गएको देखिएमा ३ हप्तासम्म क्वारेन्टाइनमा राख्ने भनेको छ । अव त हिडेर पनि नुवाकोट वा त्यहाँ भन्दा पर जान नपाइने भएको छ । सरकारले यस अघि घोषणा नै गरिसकेको छ की, एक स्थानीय तहबाट अर्काेमा नजानु । लगभग नाकाबन्दी जस्तै छ । 

अन्तमा,
यो लकडाउनको अवधि अहिलेसम्म ३ पटक थपिसक्यो सरकारले । थाहा छैन । कहिलेसम्म यो लम्बिन्छन् । यद्यपि जहिलेसम्म हुन्छ हामी सेल्फ क्वारेन्टाइनमा सुरक्षित बस्नुको विकल्प छैन । यो बाध्यता पनि हो । यदी कोही कसैलाई यो भाइरसले छोइहाल्यो भने उपचारको विकल्प हुँदैन । त्यसैले उपचार नै घरमै बस्ने । सामाजिक दूरी कायम गर्ने । यो अवस्थामाहामी सबै रसुवाली पनि पक्कै सचेत हुनु जरुरी छ । रसुवाबाट बाहिर बस्नु भएका, काम र जागिरको सिलसिलामा विभिन्न देश पुग्नु भएका रसुवावालीहरूलाई पनि यो बेला पक्कै समस्या परेको छ । गाउँघर र परिवारबाट टाढिनुपर्दाको पीडा पक्कै छ, धैर्य गर्नुको विकल्प छैन । त्यसैले जहाँ जहाँ हुनुहुन्छ धैर्य गर्नुहोस्, कामना गरौं यो भाइरसको माहामारी चाडैं हटोस् । 

0 comments:

Post a Comment

Followers

Pages

Follow Me in Facebook

यो साताको चर्चित

यो महिनाभरिका चर्चित

ब्लगभरिका चर्चित

My Archive

Powered by Blogger.